Header Ads

 


Class 12 Instructional Pedagogy Unit 3: Enhancing Classroom Climate कक्षाकोठा वातावरण संगठन

 

कक्षाकोठा वातावरण व्यवस्थापन र संगठन

Enhancing and Organizing Classroom Climate 

Click for Video: https://www.youtube.com/watch?v=avfWZwojJCg  

 

 शिक्षण सिकाइको व्यवस्थापन, प्रभावकारिता, उद्देश्यप्राप्ति, सामग्री र स्रोत व्यवस्थापन प्रभावकारी बनाउने कार्यमा कक्षाकोठाको वातावरणको भूमिका महत्वपूर्ण हुन्छ। कक्षाकोठामा सिर्जना गरिने शैक्षिक, सामाजिक, भावनात्मक वातावरणलाई कक्षाकोठाको वातावरण व्यवस्थापन भनिन्छ। कक्षाकोठाको वातावरण व्यवस्थापनले विद्यार्थीको लागि आवश्यक पर्ने सम्पूर्ण पक्षहरूको उचित व्यवस्थापनलाई बुझाउँछ जुन निम्न प्रकार रहेको पाइन्छ:

·        बुक कर्नर (Book corner)  वा पुस्तक कक्षा निर्माण: यसले समुदायमा विद्यालयसँग विद्यार्थीको शिक्षण सिकाइको साक्षात्कार गराउछ । यसले विद्यार्थीलाई स्वअध्ययन गर्न उत्प्रेरणा दिन्छ। पुस्तक कक्ष कक्षाकोठाको कुनामा वा भित्तामा तयार गर्न सकिन्छ। यसमा उपयुक्त बाल साहित्य, कविता, कहानी, लेख, बालपत्रिका, चित्रकथा आदि राख्न सकिन्छ। विद्यार्थीलाई पढ्न, चित्र बनाउने, पोस्टर बनाउने, कथा लेख्ने, कविता लेख्ने जस्ता सिर्जनात्मक कार्यमा सक्रिय बनाउन पुस्तक कक्षको उपयोग गर्न सकिन्छ।

·        कक्षाकोठाको नियम निर्माण (Rule of Classroom): उक्त नियम निर्माणले  विद्यार्थीको शिक्षालाई अनुशासित बनाउनु शिक्षकको प्रमुख दायित्व हो। विद्यार्थीको जीवन मानकले अनुशासनको आधारमा निर्देशित भएको हुन्छ। विद्यालयभित्र अध्यापनको प्रभावकारिताका लागि विद्यालयले नियम बनाएर कार्यान्वयन गर्न आवश्यक हुन्छ। कक्षाकोठाको नियम बनाउँदा विद्यार्थीको सहभागिता जरुरी हुन्छ।

·        जबचार्ट निर्माण (Job Chart): जबचार्ट निर्माण सामान्यतया विद्यार्थीको कार्यभिमुखतामा आधारित हुन्छ। कक्षाकोठाको शिक्षण व्यवस्थापन गरी विद्यार्थीलाई अधिकतम रूपमा कक्षा क्रियाकलापमा संलग्न गराउनु महत्वपूर्ण हुन्छ। त्यसका लागि जबचार्ट निर्माण गर्नुपर्छ। जबचार्ट निर्माण गर्दा प्रत्येक विद्यार्थीलाई हुने, समान रूपमा काम गर्ने अवसर पुग्ने हिसाबले बनाउनु पर्छ। साथै, शारीरिक तथा मानसिक सक्रियता बढ्न सहयोग हुने प्रकारको गतिविधि समावेश गर्नुपर्छ। जबचार्ट निर्माण गर्दा विद्यालयमा भएका स्रोतसाधनको यथोचित प्रयोग गर्न सकिन्छ। त्यसैले शिक्षकले विद्यालयको स्रोत व्यवस्थापनलाई ध्यानमा राखेर जबचार्ट निर्माण गर्नु उपयुक्त हुन्छ। यसका लागि विद्यालयको व्यवस्थापन प्रणालीलाई नजिकबाट नियालेर तयार पार्नुपर्छ।

·        बसाइ व्यवस्थापन (Setting Arrangement): बसाइ व्यवस्थापन विशेष रूपमा निपुणताका साथ गर्नुपर्दछ। विद्यार्थीको केन्द्र भागमा राख्ने व्यवस्थामा कक्षा, वा आ-आफ्ना समूहगत, सामाजिक, शैक्षिक क्रियाकलाप, शिक्षकको प्रस्तुति, विद्यार्थीको सहभागिता, इत्यादिको असर पार्दछ। त्यसैले शिक्षकले कक्षाको बसाइ व्यवस्थापन गर्दा शिक्षण उद्देश्य, पठनशैली, स्रोतसाधनको उपलब्धता, कक्षाकोठाको आकार र कोठाको बनावट जस्ता पक्ष विचार गर्नुपर्छ।

·        कक्षा सजावट (Classroom decoration): कक्षाकोठा व्यवस्थापन र बसाइ, त्यसको आधारमा तय गरिएको स्तर र कक्षाको रङ कक्षाकोठाको वातावरणमा प्रभाव पार्दछ। त्यसैले कक्षाकोठा सजावट गर्दा विद्यार्थीको मनोवैज्ञानिक स्थिति अनुकूल बनाउने खालका चित्र, पोस्टर, उद्धरण, पाटी आदि प्रयोग गर्न सकिन्छ।

·        शैक्षिक सामग्रीको व्यवस्थापन (Management of Instructional Materials): शैक्षिक सामग्रीको व्यवस्थापन कक्षाकोठामा भिन्न प्रयोगमा आउन सक्छ (पाठ्यपुस्तक, कापी-कलम, चार्ट, चित्र, नक्सा, मोडल, वस्तु, परिक्षण उपकरण, विषय, प्रयोगशाला, सन्दर्भ पुस्तक, शैक्षिक उपकरण, पोस्टर आदि)। यिनको उपयोग शिक्षण प्रक्रिया प्रभावकारी बनाउन प्रयोग गरिन्छ। शिक्षकले विषयअनुसार सामग्री व्यवस्थापन गर्नुपर्छ। यसका लागि सामग्रीको उचित चयन, सुलभता, शिक्षणको उपयुक्तता, स्थान, भण्डारण, संरक्षण, वितरण आदि महत्वपूर्ण हुन्छन्। शिक्षकले प्रयोगमा ल्याइने सामग्रीको सूची बनाउने र प्रयोग हुने विषयको विश्लेषण गर्दै व्यवस्थापन गर्नुपर्छ।



शिक्षण सिकाइलाई व्यवस्थित, प्रभावकारी, उद्धेश्यपूर्ण अनि सहज र सरल बनाउन शैक्षिक सामग्रीको व्यवस्था, उचित फर्निचरको व्यवस्था, उज्यालो तथा हावादार कक्षाकोठाको व्यवस्था, सेतो पाटिको व्यवस्था, शैक्षिक एवं प्रशानिक व्यवस्था गर्नुलाई कक्षाकोठा वातावरण संगठन भनिन्छ । कक्षाकोठाको संगठन गर्दा ध्यान दिनु पर्ने पक्ष नै सिकाइ वातावरण हो । यसकालागी फर्निचर व्यवस्था, कक्षाकोठाको सफाई, शिक्षिक सामग्रीको व्यवस्थापन, कक्षाकोठाको सजावट, सेतोपातिको रखाई, विद्यार्थीको बसाई आदिलाई ध्यान दिनु पर्छ । कक्षाकोठा वातावरण संगठन अन्तर्गत निम्न पक्षहरु रहेकाछन्:

क)   स्थानको प्रयोग (Use of Space): कक्षाकोठा वातावरण संगठनमा स्थानको प्रयोग महत्वपूर्ण कुरा हो जसमा विद्यार्थीलाई समुह कार्य वा जोडी कार्य गर्नकालागी वा बस्न तथा हिडडुल गनर्को लागि प्रशस्त मात्रमा ठाउ चाहिन्छ । विद्यार्थी बेन्चमा बसेपछि डेस्कमा झोला राख्ने, किताब पल्टाएर पढ्न सक्ने, कापीमा लेख्न सक्ने, अनि शिक्षकले आएर हेर्न सक्ने वातावरण हुनुपर्छ । कक्षाकोठामा स्थानको प्रयोग निम्नानुसार गर्न सकिन्छ:

अ)   परम्परागत कक्षा व्यवस्थापनमा विद्यार्थीहरूलाई पंक्तिबद्ध गरेर डेस्क र कुर्सीहरूको व्यवस्था गरिन्छ, जसले शिक्षकलाई सबै विद्यार्थीलाई सजिलैसँग नियन्त्रित र निगरानी गर्न मद्दत गर्छ। यो व्यवस्था शिक्षकको निर्देशनमा आधारित सिकाइको लागि उपयुक्त छ, तर विद्यार्थीहरूको समूहगत गतिविधिहरूको लागि सीमित हुन सक्छ।

आ)    लहरे बसाइ (Theater Style) व्यवस्था भनेको सबै डेस्क र कुर्सीहरू एकै दिशामा, सामान्यतया अगाडि, शिक्षकको तर्फ उन्मुख गरिन्छ। यसले एकतर्फी शिक्षण र प्रस्तुतिका लागि उपयुक्त हुन्छ, तर विद्यार्थीहरूको अन्तर्क्रियात्मक गतिविधिहरूको लागि कम अनुकूल छ।

इ)    वृताकार बसाइ (Circular Arrangement)मा, डेस्क र कुर्सीहरू गोलो वा वृताकार स्वरूपमा राखिन्छ, जसले शिक्षक र विद्यार्थीहरू बीचको संलग्नता र संवादलाई प्रोत्साहित गर्दछ। यसले समूहगत चर्चा र सामूहिक गतिविधिहरूको लागि उपयुक्त वातावरण सिर्जना गर्छ।

ई)   यु आकार बसाइ (U-Shape Arrangement) मा, डेस्कहरू यु आकारमा व्यवस्थित गरिन्छ, जसले शिक्षकलाई सबै विद्यार्थीलाई सजिलैसँग हेर्न र सबैलाई समूहगत गतिविधिमा संलग्न गराउन मद्दत गर्दछ। यसमा सबै विद्यार्थीहरूको दृष्टिकोण खुला हुन्छ र अन्तर्क्रियात्मक सिकाइका गतिविधिहरूलाई प्रवर्धन गर्न सक्षम बनाउँछ।

ख)  स्रोतहरु (Resources): स्रोतहरु भन्नाले मानवीय स्रोत, भौतिक स्रोत, र शैक्षिक स्रोत आदिलाई जनाउछ । कुनै विशेष पाठ पढाउनको लागि विशेष तालिम र अनुभवी शिक्षकलाइ बोलाउनु पर्छ जुन मानवीय स्रोत हो । यसैगरि विद्यालय भवन, कक्षाकोठा, फर्निचर, सेतो पाटि आदिले भौतिक स्रोतलाई जनाउछ । शैक्षिक सामग्री जस्तै पुस्तक, मार्कर, चित्र, ग्लोब, श्रव्य-दृश्य आदिले शैक्षिक स्रोतलाइ जनाउछ । कक्षाकोठामा स्रोतको संगठन गर्दा निम्न चार कुरालाई ध्यान दिनुपर्छ:

अ)       उपयुक्तता: स्रोतहरूको चयन गर्दा त्यसको शिक्षण सामग्री र कक्षाको उद्देश्यसँग मिल्दो हुनुपर्छ। यसले शिक्षकलाई आवश्यक सामग्री सजिलैसँग उपलब्ध गराउँछ र सिकाइको गुणस्तरलाई सुधार्न मद्दत गर्छ।

आ)    प्राप्यता: स्रोतहरू कक्षामा सहजै पहुँच योग्य हुनु आवश्यक छ, ताकि शिक्षक र विद्यार्थीहरूले आवश्यक समयमा सजिलै प्रयोग गर्न सकून्। यसले शिक्षण प्रक्रिया र विद्यार्थीहरूको सहभागितामा सहूलियत पुर्याउँछ।

इ)  भण्डारण: स्रोतहरूको उचित भण्डारणले तिनीहरूलाई सुरक्षित र व्यवस्थित राख्न मद्दत गर्छ। यसले सामग्रीहरूको दीर्घकालिन प्रयोगलाई सुनिश्चित गर्दै, कक्षामा आवश्यक चीजहरूको सङ्ग्रह र संरक्षणमा योगदान पुर्याउँछ।

ई)         संभार: स्रोतहरूको व्यवस्थित संभारले सामग्रीलाई सहज रूपमा वर्गीकृत र व्यवस्थित गर्न मद्दत गर्छ। यसले कक्षामा समयको प्रबन्धन सुधार्छ र शिक्षकलाई आवश्यक सामग्री चाँडो प्राप्त गर्न सजिलो बनाउँछ।                              ***

Click for next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-4.html

No comments

Powered by Blogger.