Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Individual Study and Study Assignment व्यक्तिगत अध्ययन र अध्ययन कार्य

 

व्यक्तिगत अध्ययन

Individual Study

Click for Video: https://www.youtube.com/watch?v=YHf3Z8IwGzc

वंशाणुक्रम र वातावरणका कारण प्रत्येक मानिसको विकासमा व्यक्तिगत विभिन्नता पाइन्छ । शारीरिक होस वा मानसिक, संवेगात्मक होस् वा सामाजिक हरेक पक्षको विकासमा व्यक्तिगत विशिष्टता हुन्छन् । कसैको विकास छिटो हुन्छ भने कसैको ढिलो । एउटै बाबुआमाका Identical twins मा समेत वैयक्तिक विभिन्नता पाइन्छ। विद्यालयमा आएका बच्चा वा बालबालिका त झन् विभिन्न सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक, सांस्कृतिक वातावरणबाट आएका हुन्छन् । विद्यालयमा पढ्न आएका सबै बालबालिकाको समान रूचि, चाहना र आवश्यकता समेत हुँदैन । विभिन्न क्षमता, चाहना र रूचि भएका बालबालिकाहरूलाई समान रूपमा व्यवहार गर्दा उत्तिकै रूपमा सफलता हासिल हुन्छ भन्ने छैन। त्यसैले विद्यार्थीहरूको व्यक्तिगत विभिन्नतालाई विचार गरी शिक्षण गर्नु नै व्यक्तिगत शिक्षण वा व्यक्तिगत अध्ययन हो ।

अर्को अर्थमा भन्दा विद्यार्थी स्वयम् सक्रिय भई विषयवस्तुको ज्ञान, सिप, धारणा र व्यवहारको बारेमा व्यक्तिगत रूपले सिक्नु नै व्यक्तिगत अध्ययन हो । व्यक्तिगत अध्ययनको प्रमुख उद्देश्य भनेको नै विद्यार्थीको व्यक्तिगत रूचि, योग्यता र क्षमताअनुसार व्यक्तिगत भिन्नतामा आधारित शिक्षणका लागि उनीहरूको अन्तर्निहित क्षमताअनुसार पूर्ण रूपमा विकसित हुने अवसर प्रदान गर्नु हो । प्रत्येक व्यक्तिलाई आफैँ सिक्न सक्षम तुल्याउनु नै व्यक्तिगत शिक्षण हो । यसप्रकारको शिक्षणले प्रत्येक व्यक्तिको अन्तरनिहित क्षमता र सर्वाङ्गीण विकासमा सहयोग पुग्दछ ।

व्यक्तिगत अध्ययनको तयारी, योजना र प्रक्रियाहरू

Plan, preparation, procedure of Individual study

व्यक्तिगत अध्ययनको तयारी, योजना र प्रक्रियाहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

ü विषयवस्तुको छनोट (Selection of subject matter): सर्वप्रथम व्यक्तिगत अध्ययनका लागि उपयुक्त विषयवस्तुको छनोट गर्नुपर्दछ ।

ü सामग्रीको व्यवस्थापन (Management of materials): विषयवस्तुको छनोट गरी सकेपछि आवश्यक अध्ययन सामग्रीहरू (पाठ्यपुस्तक सन्दर्भग्रन्थी, चार्ट, पम्प्लेट, प्रतिवेदन आदि) को व्यवस्था गर्नुपर्दछ ।

ü अध्ययन र टिपोट (Study and note): अध्ययन सामग्रीहरूको अध्ययन गरी सकेपछि आवश्यक बुँदाहरूको क्रमशः टिपोट गर्नुपर्दछ र टिपोटपछि व्याख्या गर्नुपर्दछ । बुँदाहरूको टिपोट र व्याख्या गरी सकेपछि प्रतिवेदन लेख्नुपर्दछ ।

ü मूल्याङ्कन र प्रस्तुति (Evaluation and present): विद्यार्थीले व्यक्तिगत अध्ययनको आधारमा तयार पारेको प्रतिवेदनलाई शिक्षकले मूल्याङ्कन गर्नुपर्दछ । प्रतिवेदनहरूलाई सामूहिक छलफलका लागि कक्षाकोठामा प्रस्तुत गर्नुपर्दछ ।

व्यक्तिगत अध्ययनको प्रयोग

Use of Individual Study

व्यक्तिगत अध्ययनको प्रयोगलाई निम्न बुँदामा उल्लेख गरिएको छ :

·     यस विधिको कारण विद्यार्थीहरूले स्वतन्त्र रूपले अध्ययन गर्न पाउने अवसर पाउँछन् ।

·         विद्यार्थी केन्द्रित क्रियाकलापको लागि उपयोगी हुन्छ ।

·         सैद्धान्तिक र प्रयोगात्मक दुवै प्रकृतिका विषयवस्तुमा यसको प्रयोग गरिन्छ।

·       विद्यार्थीहरूमा स्वतन्त्र रूपबाट अध्ययनको विकास गराउन यस विधिको प्रयोग गरिन्छ ।

·        व्यक्तिगत विभिन्नताको आधारमा शिक्षण गर्न यस विधिको प्रयोग गरिन्छ ।

व्यक्तिगत अध्ययनका फाइदाहरू / सबल पक्षहरू

Strengths / Advantage of Individual Study

व्यक्तिगत अध्ययनका फाइदाहरू यसप्रकार छन् :

ü वैयक्तिक शिक्षणमा सहयोग पुग्दछ ।

ü बालबालिकाको सर्वांङ्गीण विकासमा सहयोग पुग्दछ ।

ü विद्यार्थी स्वयम्ले शिक्षकको सहयोगमा आफूले अध्ययन गर्नुपर्ने विषयको छनोट गर्नुपर्दछ ।

ü विद्यार्थीहरूमा स्वअध्ययन गर्ने, बुँदाटिपोट गर्ने र प्रतिवेदन लेख्ने जस्ता सिपको विकासमा सहयोग पुग्दछ ।

ü फुर्सदको समयको सही सदुपयोग हुन्छ ।

ü ज्ञानात्मक, भावात्मक र क्रियात्मक तीनै पक्षको विकासमा यस विधिले सहयोग पुऱ्याउँछ ।

ü व्यक्तिगत विभिन्नताको आधारमा सिक्ने मौका पाउँछ ।

व्यक्तिगत अध्ययन विधिका सीमितताहरू

Limitations of Individual Study

व्यक्तिगत अध्ययन विधिका सीमितताहरू यसप्रकार छन् :

·         विद्यार्थीको व्यक्तिगत रूचि, योग्यता र आवश्यकता पत्ता लगाउन सकिंदैन

·         शिक्षण सिकाइको योजना निर्माण गर्न कठिन हुन्छ ।

·      यस विधिबाट सामाजिक गुणहरू (सहानुभूति, सहिष्णुता, प्रतिस्पर्धा) को विकासमा सहयोग नपुग्न सक्छ ।

·         ठुलो समूहमा अध्ययन सामग्रीको व्यवस्था गर्न गाह्रो हुन सक्छ ।

·         यस विधि समय र साधनको दृष्टिले बढी खर्चिलो हुन सक्छ ।

·         शिक्षक तालिम प्राप्त र योग्य नभएको खण्डमा उपयोगी नहुन सक्छ ।

व्यक्तिगत अध्ययन विधिलाई प्रभावकारी बनाउने उपायहरू

Ways of effective Individual Study

व्यक्तिगत अध्ययन विधिलाई प्रभावकारी बनाउने उपायहरू यसप्रकार छन् :

अ.       विद्यार्थीको योग्यता, क्षमता, स्तर र रूचिअनुसारको कक्षाकार्य र गृहकार्य दिने,

आ.    व्यक्तिगत अध्ययनका लागि आवश्यक पर्ने पुस्तक, पत्रपत्रिका र सन्दर्भ सामग्रीहरूको व्याख्या गर्ने,

इ.         सिकारुको निरन्तर मूल्याङ्कन गरी सिकाइका लागि प्रोत्साहन गर्ने,

ई.         विद्यार्थीहरूलाई साना साना समूहमा विभाजन गरी साना परियोजना कार्य गर्न लगाउन,

उ.         स्वतन्त्र अध्ययनलाई प्रोत्साहित गर्ने,

ऊ.   प्रत्येक विद्यालयमा पुस्तकालयको निर्माण गरी सम्पूर्ण सन्दर्भ सामग्रीको व्यवस्था गर्ने,

ऋ.  प्रत्येक कक्षामा नै एउटा प्रयोगशालाको रूपमा विकसित गर्नुपर्ने (सम्पूर्ण सामग्रीहरू कक्षाकोठामा हुनुपर्ने) ।

अध्ययन कार्य

Study Assignment

शिक्षकले कक्षाकोठामा अध्ययन अध्यापन गरिसकेपछि विद्यार्थीहरूलाई कक्षाकोठाभित्र वा बाहिर गृहकार्य गर्न दिइने शिक्षण विधिलाई नै अध्ययन कार्य (Study Assignment) भनिन्छ । यसप्रकारको शिक्षण व्यवस्था पनि व्यक्तिगत अध्ययन नै हो । अध्ययन कार्य विधि एक प्रकारको विद्यार्थी केन्द्रित विधि हो । शिक्षकले अध्ययन कार्य व्यक्तिगत रूपमा वा सामूहिक रूपमा समेत दिन सक्छन् । अध्ययन कार्यका सबल पक्षहरू (Strengths of Study Assignment) अध्ययन कार्यका सबल पक्षहरू यसप्रकार उल्लेख गरिएको छ :

क.       विद्यार्थीहरूले पढेको पाठलाई स्मरण गराउने कार्यमा अध्ययन कार्यको प्रयोग गरिन्छ ।

ख.       विद्यार्थीहरूले पढेका पाठलाई अभ्यास गराउन सजिलो हुन्छ ।

ग.        विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउन सकिन्छ ।

घ.        कक्षा कार्य र गृहकार्यको माध्यमबाट पाठले राखेको उद्देश्यहरू पूरा भयो वा भएन भनी मूल्याङ्कन गर्न सकिन्छ ।

अध्ययन कार्यका कमजोरीहरू

Limitation of Study Assignment

अध्ययन कार्यका कमजोरीहरू यसप्रकार छन् :

क.     शिक्षक निष्क्रिय भए प्रभावकारी नहुन सक्छ ।

ख.     विद्यार्थीहरूले अर्काको कापीबाट नक्कल गर्न सक्ने सम्भावना रहन्छ ।

ग.      विद्यार्थीहरूबिच अस्वस्थ्य प्रतिस्पर्धा हुन सक्ने संभावना रहन्छ ।

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_12.html

No comments

Powered by Blogger.