Header Ads

 


ग्याटिसदेखि ल्यापटपसम्मको मेरो यात्रा

 

ग्याटिसदेखि ल्यापटपसम्मको मेरो यात्रा

मेरो जीवनलाई पछाडि फर्केर हेर्दा एउटा लामो बाटो देखिन्छ—धुलो उड्ने गाउँको बाटो, खेतका आली, जङगलका गोरेटाहरू, कुपीको मधुरो उज्यालो, साइकलका पाङ्ग्रा, विदेशको मरुभूमि, कक्षाकोठा, विश्वविद्यालयका पुस्तकालय र अन्ततः हातमा आएको ल्यापटप । यी सबै मेरा जीवनका फरक–फरक समयका तस्बिरहरू हुन् । आज म ती तस्बिरहरूलाई एकै ठाउँमा राखेर हेर्दा महसुस गर्छु—मेरो जीवन कुनै सीधा र सहज यात्राको परिणाम होइन; यो अभाव, संयोग, सङघर्ष, जिम्मेवारी, शिक्षा र निरन्तरताले बनेको यात्रा हो ।

ग्याटिस र मेरो बाल्यकाल  

सानो छँदा हाम्रो घरमा दिदीबहिनीहरू धेरै भएकाले घरमा खेल्ने र रमाउने वातावरण थियो । मेरो जन्म सुर्यनगरको पाचकठ्ठे (झापा)भन्ने ठाउमा चैत्रको महिनामा भएको थियो | हाम्रो परिवार सामान्य थियो । बुबा बाहिर काठ चिर्ने काम गर्नुहुन्थ्यो भने आमा हाटबजारमा जाँड बेच्नुहुन्थ्यो । असारको समयमा घरमा कामको चाप बढी हुन्थ्यो । हिउँदमा धानबाली उठाउने समय पनि उत्तिकै व्यस्त हुन्थ्यो ।

म खेतमा काम गर्न जानेहरूका लागि खाजा लाने गर्थें । आमाले घरबाट जाँड र चाम्रे बनाएर दिनुहुन्थ्यो । म खाजा बोकेर खेततिर जाँदै गर्दा मेरा साथीहरू गुच्चा, ढुस, खोप्पी, बित्ती आदि खेलिरहेका हुन्थे । मलाई भने खाजा कतिखेर पु-याएर फर्कूँ र साथीहरूसँग खेल्न जाऊँ भन्ने हतार हुन्थ्यो । साथीहरूसँग मैले खबेटा, प्लास्टिक र मोजाको भकुण्डोसमेत खेलेको छु । त्यतिबेला मेरो अर्को ठूलो साथी थियो—ग्याटिस, रबरबाट बनाइएको चरा मार्ने साधन । मैले ग्याटिस धेरै चलाएँ । मेरो निशाना निकै तेज थियो । ग्याटिस हानेपछि चरालाई लाग्ने सम्भावना धेरै हुन्थ्यो । गाउँघरमा देखिने प्रायः सबैजसो चराको पछि म लागेको छु । बिहान र बेलुका ग्याटिस चलाउनु मेरो नियमितजस्तै काम थियो । लगभग सोह्र वर्षको उमेरसम्म मैले ग्याटिस चलाएँ ।

स्कुलबाट घर फर्किएपछि साझपख साथीहरूसँग खोल्सीतिर चरा मार्न जान्थ्यौँ । कहिले बल्छी खेल्न खोलातिर पुग्थ्यौँ । कहिलेकाहीँ रातको समयमा समेत चरा मार्न निस्कन्थ्यौँ । माछा मार्ने आफ्नै तरिका थिए—कहिले खोलाको झारबाट विष बनाउने, कहिले पानी थुन्ने, हिच्ने र फेरि पानी फर्काएर माछा मार्ने । चरा मार्ने क्रममा मैले ठूला र अग्ला रूखहरू चढेको छु । राँगा चराउँदा खोलामा पौडी खेलेको छु । जङगलमा वस्तुभाउ चराउँदा जङगलका बाटाहरू चिनेको छु । त्यहाँ पाइने लटहर, बादरझुला, कुसुम, माणीफल, वनसुन्तला, जमुना, क्यामुना र सुपारीजस्ता जङगली फलफूल खाएको छु ।

आज सम्झँदा ती दिनहरूमा सुविधा कम थिए, तर प्रकृतिसँगको मेरो सम्बन्ध गहिरो थियो । जङगल, खोला, खेत र गाउँ नै मेरो खेलमैदान थिए ।

खेत, जङगल र जिम्मेवारी

म घरको जेठो छोरो भएकाले सानै उमेरदेखि पारिवारिक जिम्मेवारी पनि बोक्नुप-यो । मैले खेत जोतेँ, आली लगाए, मकै बोकेँ, धान रोपेँ र धानको बिटा बोकेँ । हिउँदमा बुबाले बिहानै करिब चार बजेतिर गोरु नारेर खेततिर पठाउनुहुन्थ्यो । म उठ्दा गोरुहरू केही पर पुगिसकेका हुन्थे । एकपटक बाक्लो हुस्सु लागेको समयमा म खेतमा पुग्दा गोरुहरू त्यहाँ थिएनन् । धेरै खोजेपछि मात्र ती अर्काको खेतमा पुगेका रहेछन् भन्ने थाहा भयो । त्यतिखेर विहानको नौ बजी सकेको थियो ।

हाम्रो खेतमा कुलो थिएन । आकाशे पानीको भर पर्नुपथ्र्यो । त्यसैले खेती गर्नु सजिलो थिएन । मकै पाकेपछि खेतमा आली लगाउने, बिहानभरि खेतमा काम गरेर खानाको समयमा डोकोमा मकै बोकेर घर आउने काम पनि गर्नुपर्थ्यो । असारमा बाउसे गर्ने, बीउ काढ्ने, आली लगाउने र कहिलेकाहीँ धान रोप्ने काम गरियो । हिउँदमा धानको निईन सोर्ने, बिटा लगाउने र नाम्लोमा धानको बिटा बोकेर ल्याउने काम पनि गरियो । साथीभाइसँग अर्मपर्म गरेर खेत जोत्ने, धान रोप्ने र धान पछार्ने काम पनि गरियो ।

जङगल गएर रुख ढालेर दाउरा चिरेको र डोकोमा बोकेर घर ल्याएको सम्झना अझै ताजै छ । भदौको सिमसिमे पानीमा कोदो रोपेको छु । माघको महिनामा परालको दाइँ गरेको छु । कहिलेकाहीँ चारआना पैसा कमाउन कोदोको नल काटेरसमेत बेचेको छु । घरका सुँगुरका लागि चारो, बाख्राका लागि स्याउला र गाईवस्तुका लागि घाँस काट्ने काम पनि मैले गरेको छु ।

यी कामहरूले मलाई त्यतिबेला कुनै ठूलो पाठ पढाएको जस्तो लाग्दैनथ्यो । तर आज फर्केर हेर्दा ती नै मेरा पहिलो पाठशाला रहेछन् । खेतले श्रम सिकायो, जङगलले धैर्य सिकायो र जिम्मेवारीले जीवनलाई चाँडै बुझ्न बाध्य बनायो ।

अभावबीचको बाल्यकाल

हाम्रो घरमा बाउआमाको नियमित आम्दानीको स्रोत थिएन । खेतमा उब्जिएको धानले वर्षभरि खान पुग्दैनथ्यो । त्यसैले हामीले अरूको खेत पनि अधियाँ गथ्र्यौँ । खेतमा कुलो नभएकाले धान राम्रो फल्दैनथ्यो । चामलको भात सधै खान पाइँदैनथ्यो । नयाँ लुगा लगाउने अवसर प्रायः दसैँअगाडि सनपाट बेचे पछी मात्र आउँथ्यो । दसैँ, तिहार र अन्य चाडपर्व मनाउन पनि सजिलो थिएन । साथीहरू जङगल गएर काठ काटी बेचेर आफ्नो खर्च जुटाउँथे, तर मैले त्यसो गरिनँ ।

हिउँदमा परालको माच अनि परालको कुन्युमा सुतेका दिनहरू अहिले पनि मेरो स्मृतिमा ताजा छन् । आफूले रोजेको वा चाहेको कपडा र जुत्ता लगाउने कुरा त सपना जस्तै थियो । तेसैले कहिलेकाहीँ साथीभाइसँग मागेर लगाउनुपर्थ्यो । तर अभावका बीच पनि मेरो जीवनमा आफ्नै किसिमको आनन्द थियो। बुबाआमाले हामीलाई धेरै कुरामा रोकतोक गर्नुहुन्नथ्यो । हामी बाँसको टाटीले घेरेको फिल्म हलमा साँझ फिल्म हेर्न जान्थ्यौँ । कहिलेकाहीँ खाना खाएर साझ विवाह, पूजा र भोजमा हुने नाचगान हेर्न पुग्थ्यौँ । त्यतिबेलाको रातको नाचगान मलाई निकै मन पथ्र्यो ।

गाउँ, संस्कृति र सामुदायिक जीवन

हाम्रो परिवारमा मङ्गेना, लिम्वु जातिमा परिवारको सदस्यको दिर्घायुको लागि गरिने कार्य  तङ्सिङ, लिम्वु जातिमा पारिवारिक एकता र पुर्खाको लागि गरिने कार्य तथा कहिलेकाहीँ मच मार्ने, अकालमा मरेकाको आत्मालाई शुध्द बनाउने प्रक्रिया कामका लागि बिजुवा, लिम्बु जातिको पुरोहित वा फेदाङ्मालाई बोलाउने चलन थियो । सानो छँदा दसैँ मनाउथ्यौ । बुबाले सेतो चामलको टीका र जमरा लगाइदिनुभएको दृश्य अझै सम्झनामा छ ।

हामी लिम्बु परिवार भए पनि हाम्रो गाउँ बहुजातीय थियो । गाउँमा राई–लिम्बु, मगर, तामाङ, क्षेत्री–बाहुन, विश्वकर्म दासलगायत विभिन्न जातिका मानिसहरू बस्थे । तर जात, धर्म, भाषा वा संस्कृतिका कारण झगडा भएको मैले कहिल्यै देखिनँ । बुबा गाउँमा कुनै समस्या परेमा मिलाउने काममा पनि सहभागी हुनुहुन्थ्यो । हामीले मुख्यतः दसैँ–तिहार, साउने र माघे सङ्क्रान्ति, चैते दसैँ र फागु मनाउँथ्यौँ । चाडपर्वमा पिङ बनाउन सबै मिलेर सनपाट भेला पारिन्थ्यो र लठारो बनाइन्थ्यो । गाउँमा विवाह, भोज वा पूजाआजा हुँदा सबै मिलेर काम गर्थे । मैले भोजका लागि भात, पुलाउ, मासु र तरकारी पकाएको छु । तिहारमा देउसी–भैलो खेल्ने क्रममा एकादशीको दिनसम्म गाउँ नाच गराएको अनुभव पनि छ ।

गाउँमा कसैलाई गाह्रो पर्दा रातको समयमा पनि बिरामीलाई अस्पताल पु-याउन गएको छु । साथीभाइसँग भकुण्डो खेल्नु त नियमितजस्तै थियो । हामीले गाउँमा एउटा सानो क्लबसमेत चलाएका थियौँ, जसको कुनै न कुनै निशानी आज पनि गाउँमा बाँकी छ ।

त्यो समयको गाउँले जीवनले मलाई एउटा कुरा सिकाएको थियो—सुविधा कम भए पनि मानिसहरूबीचको सम्बन्ध बलियो हुन सक्छ ।

कुपीको उज्यालोमा शिक्षा

मेरो बुबा अलिअलि लेखपढ गर्न सक्नुहुन्थ्यो र आफ्नो सही गर्न जान्नुहुन्थ्यो । आमालाई भने लेखपढ आउँदैनथ्यो । मेरा दिदीबहिनीहरूले पढ्न पाएनन् । मेरो भाइले भने स्नातक तहसम्म पढ्यो । मैले प्राथमिक शिक्षा गाउँकै दीपक प्राथमिक विद्यालयबाट पूरा गरेँ । कक्षा चारदेखि मैले अङग्रेजीको एबीसी सिक्न थालेँ । प्राथमिक तहका धेरै कुरा अहिले स्पष्ट सम्झनामा छैनन्, तर दुईवटा साना घटना भने अझै ताजा छन् ।

एक दिन टिफिनको समयमा करिब १२ बजेतिर घर आएको थिएँ । हिउँदको समय थियो र बारीमा अमला फलेको थियो । बारीमा म एक्लै गएको थिए । अमला टिपेर पानामा बेच्ने र सियाले सिलाई नयाँ खाता बनाउने सोचले म अमलाको रुखमा चढेँ । तर म चढेको हाँगा भाँचियो र करिब बीस फिटको उचाइबाट म भुइँमा खसेँ । केही समय म बेहोस भएछु । होस आएपछि घर आएँ ।

अर्को घटना अझ अनौठो छ । एकपटक स्कुलमा मलाई पखाला लाग्यो र टिफिनमा घर आएर आमालाई भनेँ । आमाले ‘म दबाई दिन्छु’ भन्नुभयो । उहाँले एक गिलास कोदोको सिजङ्वा, कोदो प्रशोधन गरि तयार गरिएको तराल पदार्थ  तेलमा मेथी हालेर झानेर दिनुभयो । मैले त्यो एकै घुट्कोमा खाएँ । केही समयपछि मलाई रिङ्गटा लागेजस्तो भयो । आमालाई भनेपछि उहाँले ‘एकछिन सुत्’ भन्नुभयो । उठ्दा साँझको चार बजिसकेको थियो । मेरो किताब त साथीले घरमा ल्याइदिई सकेको रहेछ ।

उक्त समयमा मेरो मिल्ने साथी भनेको अरुण थियो जो सग म आज पनि उतिकै मिल्छु | हाम्रो परिवार त्यो समय र आज सम्म पनि उस्तै छ | हामि सानो देखि नै असाध्यै मिल्थ्यौ | खाना सगै खान्थ्यौ, स्कुल अनि क्याम्पस  समेत सगै जान्थ्यौ, अनि साझ पनि सगै सुत्थ्यौ | हामीले प्राथमिक, माध्यमिक अनि स्नातक सगै पढेर पास पनि सगै गर्यौ | हामीले आफ्नो हरेक दुखसुखलाई साटासाट गर-यौ र अहिले पनि साटासाट गरिरहेकाछौ |

गाउँको प्राथमिक विद्यालयपछि बुबाले मलाई ठूलो स्कुलमा भर्ना गरिदिनुभयो । स्कुल पुग्न करिब चालीस मिनेट हिँड्नुपथ्र्यो । मसँगै स्कुल जाने साथि अरुण अनि दाइहरू हर्के र वीरे थिए । उनीहरूको सङगत भएपछि कहिलेकाहीँ स्कुल जानुभन्दा बाटोमै रमाइलो गर्न मन लाग्थ्यो । स्कुल जाने बाटोमा कहिले माछा मारिन्थ्यो, कहिले ढुस खेलिन्थ्यो, कहिले चरा मारिन्थ्यो र कहिले गुच्चा खेलिन्थ्यो ।

त्यसको परिणाम पनि आयो । कक्षा ६ मा म चारवटा विषय लागेर फेल भएँ । त्यसपछि बुबाले मलाई सरस्वती निम्न माध्यमिक विद्यालयमा भर्ना गरिदिनुभयो । त्यहाँ मैले दुई वर्ष पढेँ । वास्तवमा ‘पढ्नुपर्छ’ भन्ने चेतना मैले त्यही विद्यालयबाट पाएँ । मैले सबै विषयको नोट बनाउने बानी त्यहीँबाट सुरु गरेँ । घरमा मलाई सिकाउने कोही थिएनन् । ट्युसन पढ्ने अवसर पनि थिएन । साँझ कुपी बालेर गुन्द्री र गजेरामा बसेर पढ्नुपथ्र्यो । कहिलेकाहीँ मट्टीतेल सकिँदा पल्लो घरमा गएर माग्नुपथ्र्यो । त्यही विद्यालयमा मैले पञ्चायत, संस्कृत र पूर्वव्यावसायिक शिक्षा पनि पढेँ ।

आजको विद्युत्, इन्टरनेट र डिजिटल उपकरणको संसारबाट फर्केर हेर्दा कुपीको त्यो उज्यालो अत्यन्त सानो देखिन्छ । तर मेरो लागि त्यही उज्यालोले पढाइप्रतिको बाटो देखाएको थियो ।

छायाले बताउने समय

निम्न माध्यमिक तह पूरा गरेपछि म फेरि त्यही ठूलो स्कुल—हिमाली माध्यमिक विद्यालय—मा फर्किएँ । त्यस समयमा त्यो गाउँमा माध्यमिक तह पढाउने विद्यालय त्यही एउटा मात्र थियो । समयमा स्कुल पुग्नुपथ्र्यो । गाउँमा टेलिभिजन थिएन । केही घरमा रेडियो थियो । त्यही रेडियो सुनेर घरको आँगनमा रहेको नरिवलको रुखको छायालाई हेरेर मैले नौ बजेको एउटा चिन्ह बनाएको थिएँ र त्यही नरिवलको छायालाई आधार बनाएर स्कुल जाने समय मिलाउँथेँ ।

मैले २०४७ सालमा हिमाली माध्यमिक विद्यालय, पृथ्वीनगर, झापा बाट एसएलसी पास गरेँ । त्यतिबेला एक महिनाजति मात्र ट्युसन पढ्ने अवसर पाएँ । पुसमा पढेँ र माघमा परीक्षा दिएँ । नतिजा आयो । अरुण, दीपक र निर्मल मेरा साथी थिए । हामी पास भएका रहेछौँ, तर शिक्षकहरूले हामीलाई चिन्नुभएको रहेनछ । पछि प्रमाणपत्र लिन स्कुल पुगेपछि मात्र उहाँहरूले हाम्रो बारेमा थाहा पाउनुभयो ।

त्यो घटनाले मलाई एउटा अनौठो अनुभूति दिएको थियो—कहिलेकाहीँ मानिसको उपलब्धि उसको परिचयभन्दा अगाडि पुग्दोरहेछ ।

साइकल: उच्च शिक्षाको बाटो

एसएलसी पास भएपछि हाम्रो गाउँमा क्याम्पस पढ्ने चलन थियो । त्यसैले एक दिन हामी पनि गाउँबाट क्याम्पस गयौँ । मैले काउन्टरमा सोधेँ । एकजना दिदीले एउटा फाराम दिनुभयो । फाराम भरियो, बुझाइयो र हाम्रो कक्षा पनि सुरु भयो । करिब दुई महिना पढेपछि मात्र हामीले आफूहरूले मानविकी सङ्कायमा नाम लेखाएको थाहा पायौँ । मैले मेची बहुमुखी क्याम्पस, भद्रपुरबाट मानविकी सङ्कायमा प्रवीणता प्रमाणपत्र तहको मूल विषय अंग्रेजी लिएर २०५० सालमा अध्ययन पूरा गरेँ ।

कक्षा चारदेखि अङग्रेजी पढेको र एसएलसीमा दोस्रो डिभिजन ल्याएको म जस्तो विद्यार्थीका लागि मेजर अङग्रेजी पढ्नु आफैँमा नयाँ चुनौती थियो । सुरुका केही महिना मेजरको कक्षा धेरै बुझिएन । विद्यार्थीहरू धेरै थिए; कोही आउँथे, कोही कक्षाबाट बाहिरिन्थे । तिन महिना जति त तेत्तिकै बित्यो किनकि केहि बुझिएन | स्नातक तह (मानविकी संकाय) को पहिलो वर्ष अर्थशास्त्रको परीक्षा दिँदा प्रश्न नै नबुझेर फेल भएको अनुभव पनि छ । तर जसोतसो अघि बढ्दै गएँ । अन्ततः मेची बहुमुखी क्याम्पसबाटै अङग्रेजी मुख्य विषय लिएर २०५३ सालमा स्नातक तह पूरा गरेँ ।

क्याम्पस हाम्रो घरबाट टाढा थियो । साइकलमा करिब एक घण्टा लाग्थ्यो । कहिले पानीले भिजाउँथ्यो, कहिले साइकल बाटोमै बिग्रन्थ्यो । एक पटक वर्षायामको समयमा परिक्षा दिन जादा बाटोमा पानीले भिजायो | कोठामा पुगेर लेखिरहेको थिए, सर आएर प्रवेश पत्र (Admit Card) सोध्नु भयो | मैले गोजीमा रहेको प्रवेश पत्र देखाउदा त चार टुक्रा भईसकेको रहेछ | नियमित भएर पनि आईए र बीए गरी दुई–दुई वर्षको पढाइ पूरा गर्न मलाई करिब छ वर्ष लाग्यो । पहिलो वर्ष पढ्दा मसँग पुरानो ‘एभन’ साइकल थियो । बीए पढ्दा भने मैले नयाँ साइकल ‘माउन्टेन बाइक’ चढेँ । ती साइकलहरु मेरो लागि केवल यातायातको साधन थिएन; त्यो मेरो उच्च शिक्षातर्फको यात्रा बोकेको साधन थियो ।

त्यतिबेला वर्षभरिको क्याम्पस शुल्क करिब चार सय पचास रुपैयाँजति थियो । त्यो रकम तिर्नसमेत सजिलो थिएन । गाउँतिर स्नातक तहका लागि गाइड, गेस पेपर, कोचिङ वा ट्युसनजस्ता सुविधा थिएनन् । त्यसका लागि टाढा जानुपथ्र्यो । तर साइकलका पाङ्ग्रा घुमेसँगै मेरो शिक्षा पनि अघि बढिरहेको थियो ।

विदेश: जीवनको मोड

स्नातक तह पूरा गरेपछि राजधानी गएर त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नातकोत्तर तहको प्रवेश परीक्षा दिएँ । दसैँअघिसम्म कक्षा पनि पढेँ । तर परिस्थितिले मेरो पढाइलाई निरन्तरता दिन दिएन । त्यही समयमा आमाको मनमा मलाई विदेश पठाउने इच्छा जाग्यो । मेरो आठ वर्ष लामो प्रेमयात्रा पनि अन्तिम चरणमा पुग्न लागेको थियो । एकातिर मेरो स्नातकोत्तर पढ्ने सपना थियो, अर्कोतिर आमाको सपना पूरा गर्ने जिम्मेवारी । साथै आठ वर्षदेखि अघि बढिरहेको सम्बन्धलाई पनि एउटा निष्कर्षमा पु-याउनुपर्ने अवस्था आएको थियो ।

म यी कुनै पनि कुराका लागि पूर्ण रूपमा तयार थिइनँ । तर जीवनले कहिलेकाहीँ तयारीको समय दिँदैन । परिस्थितिसँग जुध्नै पर्दो रहेछ  ।  केही समयपछि तयारी पूरा नभए पनि आठ वर्षको प्रेमयात्रालाई अन्तिम निर्णय गर्नुपर्ने परिस्थिति आयो । अन्ततः मैले त्यो निर्णय स्वीकार गरेँ ।

आफू जन्मेको ठाउँ झापा भन्दा टाढा, सिमरा, बारामा नयाँ जीवनसाथीसँग नयाँ जीवन सुरु भयो । मैले स्कुलमा पढाउने काम पनि सुरु गरेँ तर यसलाई मैले राम्ररी बुझीसकेको थिइन । त्यो नयाँ जीवनको सुरुवातको एउटा शुक्ल पक्ष पनि पूरा हुन नपाउँदै अनि बिहानीको सितको थोपा मिर्मिरेले चुम्न नपाउदै पासपोर्ट बनाउने कुरा आयो । अनि म मेरो आमाको सपनालाई पुरा गर्न आफ्नो जीवन साथीलाई चिसो रात सुम्पदै म साउदी अरबको मरुभूमिमा पुगेँ । तातो हावा र अपरिचित वातावरणबीच करिब तीन वर्ष बिते ।

विदेशले मलाई पैसा कमाउनेभन्दा धेरै जीवन बुझायो । म घर फर्किएँ, तर फर्किँदा मेरो जीवनको एउटा ठूलो आधार—मेरी आमा—अब हुनुहुन्नथ्यो । आमाको मृत्युको खबर र उहाँलाई भेट्न नपाएको पीडा आज पनि मेरो मनमा छ । विदेशबाट फर्किएपछि मेरो काँधमा अर्को जिम्मेवारी थपिएको थियो । तेसैले जीवनसाथीलाई साथमा ल्याई फेरि त्यही ठाउँ सिमरामा पढाउने काम सुरु गर्नुप-यो । त्यतिबेला मसँग ठूलो सम्पत्ति थिएन । मसँग करिब तीन हजार पाँच सय रुपैयाँजति र मेरो ठुलो सम्पति मेरी जीवनसाथी हुनुहुन्थ्यो । त्यहीबाट मैले नयाँ जीवन सुरु गर्नुपर्ने थियो ।

मेरो जीवनसाथीको बारेमा भन्नु पर्दा –

'आज जीवनको यो मोडमा आइपुगी पछाडी फर्केर हेर्दा महसुस गर्छु —मेरो सफलताको यात्रामा मेरो आफ्नै प्रयास जति महत्वपूर्ण छ , त्यति नै महत्वपूर्ण तपाईको साथ, विश्वास, धैर्य र त्याग पनि रहेछ । मैले जीवनमा केही प्राप्त गर्न सकेँ भने त्यसको पछाडी तपाईले चुपचाप सहेका धेरै दुःख गरेका प्रतीक्षा र दिएको हौसला लुकेको छ ।

तपाईले आफ्नो परिवार, आफ्नो सहजता र कतिपय अवस्थामा आफ्नै भावनाभन्दा माथि उठेर मलाई रोज्नुभयो । हाम्रो सम्बन्धलाई स्वीकार गर्न सहज नभएको परिस्थितिमा पनि मेरो हात छोड्नुभएन । म विदेशमा हुँदा दूरीलाई सह्य बनाउँदै पर्खिरहनु भयो । मेरो अध्ययन र जीवनका कठिन मोडहरूमा निराश हुन नदिई अगि बड्ने हिम्मत दिनुभयो । तपाईको यही धैर्य र विश्वासप्रति म सधैँ ऋणाी रहनेछु ।

तपाईलेले आफ्नो माइतीबाट चाहेजति पाएको माया र ममता मैले दिन सकिनँ, त्यसप्रति मनमा केही आत्मग्लानि अवश्य छ । तर तपाईले मेरो जीवनमा दिएको माया, विश्वास र साथको मूल्य कुनै शब्दले व्यक्त गर्न सक्दैन । तपाईको त्याग मेरो जीवनको अमूल्य सम्पत्ति हो । हाम्रो आठ वर्षको यात्रामा उतार–चढाव धेरै आए । कहिले परिस्थितिले परीक्षा लियो, कहिले दूरीले, कहिले परिवार र समाजका सोचले । तर हामी दुवैले एक–अर्काको हात समातिरह्यौँ र अन्ततः आफ्नो गन्तव्यतर्फ अगि बढ्न सफल भयौँ ।'

शिक्षण : पढाउँदै सिक्ने यात्रा

विदेशबाट फर्किएपछि शिक्षण मेरो जीवनको स्थायी यात्राजस्तो बन्यो । मैले  आफ्नो जीवन साथीलाई साथ लिई पुनः सिमरा फर्की पढाउन थालेँ । पढाउँदै गर्दा फेरि पढ्ने इच्छा जाग्यो । स्नातकोत्तर गर्ने मेरो पुरानो सपना अझै मरेको थिएन । केही समयपछि दुःखसुख गरेर वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट २०६१ सालमा एकवर्षे बीएड पूरा गरेँ । यसले स्नातकोत्तर पढ्ने ढोका खोलिदियो ।

राजधानी गएर नियमित रूपमा पढ्नु मेरा लागि सम्भव थिएन । त्यसैले मैले सोचेभन्दा धेरै समयपछि स्नातकोत्तर तहमा प्रवेश गरेँ । अन्ततः ठाकुरराम बहुमुखी क्याम्पसबाट शिक्षा सङ्कायमा अङग्रेजी मुख्य विषय लिएर २०६९ सालमा स्नातकोत्तर अर्थात् शिक्षाशास्त्राचार्य पूरा गरेँ । यसरी मेरो जीवनमा पढाउनु र पढ्नु एकैसाथ अघि बढे ।    

स्नातकोत्तरको कक्षा साँझमा हुन्थ्यो । हामी सिमराबाट दिनेश, श्रीहरी, लालबाबु, कनक र म गरी पाँच जना पढ्न विरगञ्ज स्थित ठाकुरराम क्याम्पस जान्थ्यौँ । गाडीबाट ओर्लिएपछि क्याम्पस पुग्न हिँड्दाको समय आफ्नै किसिमको रमाइलो हुन्थ्यो । तर कक्षा नसकी बाहिर निस्कन मिल्दैनथ्यो । बाध्यताले राति करिब ८:३० पछि कक्षा छोड्नुपर्थ्यो । त्यसपछि घर फर्किन अर्को सङघर्ष सुरु हुन्थ्यो—कहिले चक्काजाम, कहिले गाडी नपाउने ।

एकपटक चक्काजाम परेको थियो । ड्राइभरले गाउँको बाटो हुँदै लैजान्छु भन्यो । हामी पनि तयार भयौँ । तर गाउँमा पुगेपछि गाडी हिलोमा फस्यो । धेरैपटक प्रयास गर्दा पनि गाडी निस्किएन । अन्ततः हामी करिब ४५ मिनेट हिँडेर मुख्य सडकमा आइपुग्यौँ । त्यो दिन विरगञ्ज बाट सिमरा कोठामा पुग्दा रातको करिब ११ बजेको थियो ।

स्नातक सकेको करिब एक दशकपछि मैले स्नातकोत्तर पूरा गरेँ । समय लागेको थियो, तर सपना अधुरो रहेन ।

शिक्षाले सिकाएका कठिन पाठहरू

मेरो शैक्षिक यात्रामा मैले किताबबाट मात्र होइन, आफ्नै कमजोरीबाट पनि धेरै कुरा सिकेको छु । एकवर्षे बीएड गर्दा मेरो शिक्षण अभ्यास छुट्यो । अर्को वर्ष फर्म भरेँ । तर अन्तिम मुल्यांकनको (Final Observation) दिन मैले आफ्नो सुपरभाइजरलाई नै चिन्न सकिनँ । त्यसबेला मैले गाली खानु प-यो ।

स्नातकोत्तरको थेसिस लेख्ने क्रममा पनि अर्को पाठ पाएँ । मैले थेसिसको सबै परिच्छेदहरु लेखिसकेको थिएँ । सुपरभाइजरले ‘सन्दर्भका लागि कुन–कुन थेसिस हेर्नुभयो?’ भनेर सोध्नुभयो । मसँग कुनै थेसिस थिएन । मैले इमानदारीपूर्वक ‘छैन’ भनेँ । उहाँले मलाई काठमाण्डौको सेन्ट्रल लाइब्रेरी गएर कम्तीमा तीनवटा थेसिस फोटोकपी गरेर ल्याउन भन्नुभयो । म  काठमाण्डौ गएँ, तीनवटा थेसिस फोटोकपी गरेर ल्याएँ । यो काम गर्नमै मेरो करिब नौ महिना बितेछ ।

त्यतिबेला मलाई सायद समय खेर गएको जस्तो लाग्यो । तर आज बुझ्छु—अनुसन्धान केवल लेख्ने काम होइन; अनुसन्धानका पृष्ठभूमि, आधार, सन्दर्भ र पूर्वकार्य बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेछ ।

एम फिल: फेरि विद्यार्थी बन्ने निर्णय 

स्नातकोत्तर पूरा गरेपछि पनि मेरो मनमा ‘अब अझै पढ्ने कि?’ भन्ने प्रश्न थियो । चाहना पनि थियो, बाध्यता पनि । नियमित कक्षामा उपस्थित भएर पढ्न सम्भव थिएन । त्यसैले मैले अनलाइन कक्षाको अवसर खोज्न थालेँ । लगभग एक दशकपछि नेपाल खुला विश्वविद्यालय, मानभवनमा तीन सेमेस्टरको एम फिल कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन दिएँ ।

प्रवेश परीक्षा पास गर्नुपर्ने थियो । मैले परीक्षा दिएँ र नाम निकाल्न सफल भएँ । तर नयाँ समस्या अगाडि आयो—एम फिल पढ्न ल्यापटप अनिवार्य थियो । त्यसअघि मेरो जीवनमा ग्याटिस थियो, कुपी थियो, साइकल थियो; अब मेरो हातमा अर्को नयाँ वस्तु आउँदै थियो—ल्यापटप । म केही गरी बचाएको पैसा लिएर बजार गएँ र एउटा ल्यापटप, माउस, प्रिन्टर र हेडफोन किनेँ । त्यो खरिद केवल सामान किनेको घटना थिएन । मेरो जीवनको एउटा नयाँ अध्याय सुरु भएको क्षण थियो । नेपाल खुला विश्वविद्यालयको दोस्रो ब्याचमा मधेश प्रदेशबाट नेपाली विषयका राजु न्यौपाने र अङग्रेजी विषयबाट म गरी हामी दुई मात्रै जना थियौँ ।

एम फिलको कक्षा राम्रै भयो । साँझ तीन घण्टाको अनलाइन कक्षा हुन्थ्यो । परीक्षा पनि चार घण्टाको हुन्थ्यो र हामीले लेखेरै दिन्थ्यौँ । अन्ततः नेपाल खुला विश्वविद्यालयबाट २०७९ सालमा मैले अङग्रेजी शिक्षा लिई एम फिल अर्थात् दर्शनशास्त्रीको अध्ययन पूरा गरेँ ।

ल्यापटप: नयाँ संसारको ढोका

एम फिल पढ्नका लागि किनेको ल्यापटपले मेरो जीवनमा एउटा नयाँ संसार खोल्यो । अनलाइन कक्षा लिन, सामग्री खोज्न, लेख्न, सम्पादन गर्न, अनुसन्धान गर्न र विभिन्न सफ्टवेयर प्रयोग गर्न मैले क्रमशः सिक्दै गएँ । पहिले पुस्तकालय, थेसिस र छापिएका सामग्री खोज्दै हिँड्नुपथ्र्यो । अब त्यही ज्ञानको ठूलो संसार मेरो अगाडि स्क्रिनमा आउन थाल्यो ।

एम फिलको डिजर्टेसन लेख्दा मैले केही नयाँ सफ्टवेयर पनि चलाउन सिकेँ । मैले डिजर्टेसनका सबै एकाइहरू समयमा नै पूरा गरेर आफ्नो गाइडलाई (Thesis Guide) देखाएँ । उहाँले ठीक छ भन्नुभयो । तर सुपरभाइजरले सन्दर्भ खण्डसँग (Reference Section) सम्बन्धित केही कुरा उठाउनुभयो । उहाले त APA सम्पादकलाई सम्पर्क गर्नु भन्नुभयो । त्यसपछि अन्तिम भाइवा, थेसिस लेखिसकेपछी लिइने मौखिक अन्तरवार्ता हुन करिब छ महिना लाग्यो ।

मेरोजस्तै अरू विद्यार्थीका पनि आफ्नै समस्या रहेछन् । अन्ततः हामी विभिन्न जिल्लाबाट आठ जना काठमाण्डौंमा भेला भयौँ । विश्वविद्यालय गएर दुई दिन भेटघाट र छलफल गरेपछि मात्र अन्तिम प्रिन्टिङ गर्न अनुमति पायौँ । त्यो समय फेरि एउटा परीक्षा जस्तै थियो । तर यसपटक मसँग एउटा फरक साथी थियो—मेरो ल्यापटप ।

यसले मेरो एम फिल पूरा गर्न मात्र सहयोग गरेन; त्यसपछिको मेरो शिक्षण यात्रालाई पनि सजिलो बनायो । ल्यापटपकै प्रयोग गरेर मैले कक्षा सञ्चालन गर्न थालेँ । आज पनि मेरो कक्षाकोठामा यसको प्रयोग भइरहेको छ । तेसैले ल्यापटपलाई म धेरै सम्मान गर्छु |

विध्यार्थीबाट अनुसन्धानकर्तातर्फ

मेरो अध्ययनको यात्रा हेर्दा स्नातक, स्नातकोत्तर र एम फिलले मलाई फरक–फरक पाठ सिकाएका छन् । स्नातकले मलाई उच्च शिक्षाको ढोका खोल्यो । स्नातकोत्तरले शिक्षकका रूपमा मेरो ज्ञान र आत्मविश्वास बढायो । एम फिलले भने मलाई अनुसन्धानको संसारसँग अझ नजिक पु-यायो । एम फिलको डिजर्टेसन लेख्ने क्रममा मैले सन्दर्भ, सफ्टवेयर, डिजिटल सामग्री र अनुसन्धान प्रक्रियाको महत्व अझ गहिरोसँग बुझ्न थालेँ ।

यससँगै मलाई एउटा कुरा महसुस भयो—शिक्षक हुनु भनेको कक्षामा गएर पढाउनु मात्र होइन; आफू पनि निरन्तर सिकिरहनु हो । यही बोधले मलाई अनुसन्धानात्मक लेखनतर्फ आकर्षित ग-यो । पहिले म किताब र अरूका लेख पढ्थेँ । पछि आफूले पनि लेख्नुपर्छ भन्ने सोच विकास भयो । मैले अनुसन्धानात्मक लेख लेख्न र प्रकाशनका प्रक्रियाबारे सिक्न थालेँ । यसरी मेरो यात्रा ज्ञान ग्रहण गर्ने विद्यार्थीबाट ज्ञान उत्पादन गर्ने अनुसन्धानकर्तातर्फ विस्तार हुँदै गयो ।

पहिलो अनुसन्धानात्मक लेखबाट

शिक्षकका रूपमा काम गर्दै जाँदा कक्षाकोठामा देखिने विभिन्न गतिविधि र विद्यार्थीहरूको व्यवहारले मलाई धेरै प्रश्नहरू सोच्न बाध्य बनाउँथ्यो । विद्यार्थीको सिकाइ केवल पाठ्यपुस्तक र कक्षाकोठाभित्र सीमित हुँदैन भन्ने कुरा मैले आफ्नै शिक्षण अनुभवबाट महसुस गर्न थालेँ ।

विद्यालयमा सञ्चालन हुने विभिन्न अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीको सिकाइ, आत्मविश्वास, भाषा विकास र समग्र व्यक्तित्वमा कस्तो प्रभाव पार्छन् भन्ने विषयले मेरो ध्यान तान्न थाल्यो । यही जिज्ञासाले मलाई अध्यापनबाट अनुसन्धानतर्फ अघि बढायो । यसै क्रममा मैले माध्यमिक विद्यालयमा सञ्चालन हुने कोठा भित्र खेलिने र कोठा बाहिर खेलिने खेलहरु (Indoor and Outdoor Events)  को महत्त्वबारे अनुसन्धान गर्ने प्रयास गरेँ । अनुसन्धानको क्रममा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरू केवल मनोरञ्जनका लागि मात्र होइनन्, विद्यार्थीको समग्र विकाससँग पनि तिनको सम्बन्ध हुन्छ भन्ने पक्षलाई अध्ययन गर्ने अवसर पाएँ ।

विद्यार्थी र शिक्षक दुवैका दृष्टिकोणलाई समेटेर गरिएको यस अध्ययनले विद्यालयमा यस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निश्चित समयतालिका, दक्ष तथा अनुभवी संयोजक र आवश्यक सामग्रीको महत्त्व देखायो । शिक्षकहरूको प्रतिक्रियाले यस्ता गतिविधिले विद्यार्थीको शैक्षिक विकाससँगै विभिन्न भाषिक सीपको विकासमा पनि योगदान गर्न सक्ने देखायो ।

मेरो पहिलो अनुसन्धानात्मक लेख 'Importance of Conducting Indoor and Outdoor Events at Secondary Schools in Nepal' शीर्षकमा Marsyangdi Journal मा सन् २०२४ मा प्रकाशित भयो । यो प्रकाशन मेरो शैक्षिक यात्रामा एउटा महत्वपूर्ण मोड बन्यो ।

Link: https://doi.org/10.3126/mj.v4i1.67815

दोस्रो अनुसन्धानात्मक लेखबाट

पहिलो अनुसन्धानात्मक लेख प्रकाशित भएपछि अनुसन्धानप्रतिको मेरो रुचि अझ बढ्दै गयो । अध्यापनका क्रममा विद्यार्थीहरूको सिकाइमा परिवार र अभिभावकको भूमिकालाई नजिकबाट देख्ने अवसर पाइरहेको थिएँ । विशेषगरी अङग्रेजी भाषा सिक्ने क्रममा सबै विद्यार्थीले घरबाट समान प्रकारको सहयोग पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नले मलाई सोच्न बाध्य बनायो । यही जिज्ञासाबाट मेरो अर्को अनुसन्धानको विषय जन्मियो ।

यसपटक मैले माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूकै दृष्टिकोणबाट अङग्रेजी सिकाइमा अभिभावकको संलग्नतालाई बुझ्ने प्रयास गरेँ । विद्यार्थीहरूले आफ्ना अनुभव कसरी व्यक्त गर्छन्, अभिभावकले घरमा उनीहरूको पढाइमा कस्तो सहयोग गर्छन्, र पारिवारिक तथा आर्थिक अवस्थाले अङग्रेजी सिकाइमा कस्तो भूमिका खेल्छ भन्ने प्रश्नहरू मेरो अध्ययनका केन्द्रमा रहे ।

अनुसन्धान गर्दै जाँदा मैले एउटा महत्वपूर्ण कुरा महसुस गरेँ—शिक्षणमा हामीले सामान्य ठानेका धेरै विषयभित्र गहिरा अनुसन्धानका प्रश्नहरू लुकेका हुन्छन् । अभिभावकले बच्चालाई गृहकार्यमा सहयोग गर्नु, अङग्रेजी पढ्न प्रोत्साहित गर्नु, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनु वा घरमा पढ्ने वातावरण बनाइदिनु सामान्य पारिवारिक व्यवहारजस्तो देखिए पनि विद्यार्थीको दृष्टिकोणबाट हेर्दा यी कुराहरू सिकाइका महत्वपूर्ण पक्ष रहेछन् ।

यस अनुसन्धानको निष्कर्षले शिक्षित अभिभावकले आफ्ना छोराछोरीलाई अङग्रेजी सिक्न थप सहयोग गर्न सक्ने देखाए पनि अशिक्षित अभिभावकले पनि आफ्ना छोराछोरीका लागि अनुकूल सिकाइ वातावरण सिर्जना गर्न सक्ने देखायो । अभिभावकको आर्थिक अवस्थाले पनि बालबालिकाको सिकाइमा आवश्यक सामग्री र अवसर उपलब्ध गराउने कुरामा प्रभाव पार्ने देखियो ।

मेरो यो अनुसन्धानात्मक लेख “A Phenomenological Study of Parental Involvement From Students’ Perspectives in Secondary Level English Learning in Nepal” शीर्षकमा सन् २०२६ मा  Academic Journal of Simara  मा प्रकाशित भयो ।

Link: https://doi.org/10.3126/ajs.v1i1.91471

ORCID: नयाँ पहिचान

अनुसन्धानात्मक लेखनसँगै मेरो शैक्षिक यात्राले अर्को नयाँ पहिचान पायो—ORCID जुन मेरो लागि केवल एउटा नम्बर वा डिजिटल पहिचान होइन । यो मेरो लामो शैक्षिक यात्रालाई अनुसन्धानको संसारसँग जोड्ने एउटा औपचारिक परिचय हो ।

गाउँमा हुँदा मेरो संसार ग्याटिस, खेत, जङगल र खोलासम्म सीमित थियो । कुपीको उज्यालोमा पढ्दा मेरो सपना अझै अस्पष्ट थियो । साइकल चढेर क्याम्पस जाँदा मैले आफ्नो संसार केही फराकिलो बनाएँ । विदेश गएपछि जीवनको अर्को कठोर पक्ष देखेँ । शिक्षणमा आएपछि अरूलाई पढाउँदै आफू पनि सिकेँ । स्नातकोत्तर र एम फिलले मेरो अध्ययनलाई नयाँ उचाइ दिए । अनि ल्यापटपले मेरो हातमा संसारको ज्ञानसँग जोडिने माध्यम ल्याइदियो ।

आज अनुसन्धानात्मक लेखन र ORCID सम्म आइपुग्दा मलाई आफ्नो पुरानो यात्रा फेरि सम्झना आउँछ ।

ORCID ID: https://orcid.org/0009-0002-0015-9866

ग्याटिसदेखि ल्यापटपसम्म

कहिलेकाहीँ म सोच्ने गर्छु—यदि मेरो बाल्यकालका ती ग्याटिसका दिनहरू नभएका भए के मेरो जीवन आजको जस्तो हुन्थ्यो होला ?

ग्याटिसले मलाई कुनै औपचारिक शिक्षा दिएको थिएन । तर त्यसले मेरो बाल्यकालको संसारको प्रतिनिधित्व गर्छ । कुपीले अभावबीच उज्यालो खोज्न सिकायो । साइकलले दूरी पार गर्न सिकायो । विदेशले जीवनको कठोरता र जिम्मेवारी बुझायो । शिक्षणले अरूलाई सिकाउँदै आफू पनि सिक्नुपर्ने कुरा सिकायो । एम फिलले अनुसन्धानको संसारमा प्रवेश गरायो । र ल्यापटपले ती सबै अनुभवलाई नयाँ प्रविधिसँग जोडिदियो । मेरो यात्रा वास्तवमा ग्याटिसबाट ल्यापटपसम्मको मात्र यात्रा होइन । यो अभावबाट अवसरसम्म, श्रमबाट शिक्षासम्म, विद्यार्थीबाट शिक्षकसम्म र शिक्षकबाट अनुसन्धानकर्तासम्मको यात्रा हो ।

यी सबै घटना अलग–अलग देखिए पनि आज आएर तिनलाई जोड्दा एउटै कथा बन्छ—नछोड्ने कथा । मेरो जीवनमा धेरैपटक बाटो रोकिएको थियो । कहिले आर्थिक अभावले, कहिले परिस्थितिले, कहिले जिम्मेवारीले र कहिले आफ्नै कमजोरीले । तर हरेकपटक कुनै न कुनै बाटो फेरि खुलेको छ । त्यसैले आज म आफ्नो विगतलाई हेर्दा उपलब्धिहरू मात्र देख्दिनँ; म ती उपलब्धिहरू पछाडिका असंख्य साना सङघर्षहरू देख्छु ।

ग्याटिस बोकेको त्यो बालकलाई थाहा थिएन कि एक दिन उसले ल्यापटप बोकेर संसारभर फैलिएको ज्ञानको संसारमा प्रवेश गर्नेछ । कुपीको मधुरो उज्यालोमा बसेर पढ्ने त्यो विद्यार्थीलाई थाहा थिएन कि एक दिन उसले अनलाइन कक्षामा अध्ययन गर्नेछ । साइकल चढेर एक घण्टा क्याम्पस पुग्ने त्यो युवकलाई थाहा थिएन कि उसको शैक्षिक यात्रा एम फिल सम्म पुग्नेछ अनि दर्शनशास्त्री बन्नेछ । र अनुसन्धानात्मक लेख लेख्ने मलाई पनि थाहा छैन—यो यात्रा अब कहाँसम्म पुग्नेछ ।

सायद यही जीवनको सुन्दरता हो ।

ग्याटिसले सुरु गरेको मेरो यात्रा ल्यापटपमा आएर रोकिएको छैन । ल्यापटपले त मेरो यात्राको अर्को ढोका मात्र खोलेको छ । अब त्यो ढोकाबाट म अध्ययन, अनुसन्धान, लेखन र ज्ञानको अझ फराकिलो संसारतर्फ अघि बढिरहेको छु । भनिन्छ सिकाई जीवनपर्यन्त चली रहने प्रक्रिया हो त्यसैले मेरो यात्रा जारी छ ।

***

No comments

Powered by Blogger.